स्कुल बसको ठक्करबाट रुपन्देहीमा २ जनाको मृत्यु, १ को अवस्था गम्भीर


बुटवल – रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरूको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन्। आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया