कैलालीमा पैदल यात्रीको मृत्यु: अक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा किशोरी घाइते


कैलाली- बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्ने स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा परेर लम्कीचुहा– १ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ । अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ ।

मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीसँग् उनीहरुको झडप परेको हो ।

बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो। घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया