९ हजार भूकम्पपीडितले पाए २२ करोड


काठमाडौं- भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् ।

प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए । पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म  दुई करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको  ३५ लाख ५० हजार रकम निकासा गरिएको हो ।

सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए । -रासस

प्रतिक्रिया