बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीमा राजमार्ग अवरुद्ध


कैलाली- बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले लम्कीमा राजमार्ग अवरुद्ध गरेका हुन् । मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर उनीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै मृतकको परिवारलाई कानुन अनुसारको क्षतिपूर्ति तथा र दोषीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेकोले शान्ति व्यवस्था कायम राख्न कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन् ।

बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो। घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया