नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे : कुलमान घिसिङ


ललितपुर – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताए ।

उनले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अपर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताए । एक वर्षसम्म अनुमति नदिई काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए ।

निर्देशक घिसिङले काठमाडौँ उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताए । उनले अन्डरग्राउन्ड गर्ने ठुलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे ।

उनले नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताए । उनले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठुला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए ।

उनले समन्वयको कमीका कारण ठुला योजनाहरू बेवारिसेको रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रतिक्रिया