

नेपाल एयरलाइन्सको लापरबाहीले विमानस्थलमै छुटे ३१ यात्रु, जहाजमा थिए प्रधानमन्त्री

काठमाडौं- नेपाल एयरलाइन्सले विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीलाई लिएर उडेको छ । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको टोली दुबई गएको हो ।
तर, प्रधानमन्त्री चढेको जहाजले बुधबार बेलुका टिकट लिएका ३१ यात्रुलाई विमानस्थलमै अलपत्र पारेर उडेको छ । बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको जहाजलाई समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर उडाउँदा यात्रु छुटेका हुन् ।
उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराएको यात्रुहरुले बताएका छन् । सोही जानकारी नपाउँदा ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेका थिए। यात्रुमध्ये प्रज्वल विक्रम राणा पनि कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । तर नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ ले ‘भीभीआईपी फ्लाइट’ भन्दै ३१ यात्रुलाई अलपत्र पारेको उनले बताएका छन् ।
नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ। एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने बताएको छ । अहिले सबै छुटेका यात्रुलाई काठमाडौंको एक होटलमा राखिएको छ ।

