


नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू

काठमाडौं – आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू भएको छ। सर्वोत्तम सिमेन्टले आजबाट बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको हो।
कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो। यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत हो।
कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रूपैयाँदेखि ६ सय १ रूपैयाँको दरमा सेयर जारी गरेको छ। यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्।
बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता सेयर बाड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य ‘कट अफ प्राइस’ का रूपमा रहन्छ। बोलकबोल मंसिर १० गतेसम्मको लागि खुला गरिएको छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।
सर्वोत्तम कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आइपिओ जारी गर्न २०७९ असारमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
यसअघिका स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष लगायतले कम्पनीको सेयर खरिद गरेपछि यो कम्पनीको सेयर विवादमा परेको थियो। र, सेयर जारी प्रक्रिया लम्बिएको थियो।

