
दुर्गा प्रसाईंका समर्थकलाई युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटे
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका छन् ।
मङ्सिर ७ मा मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका हुन् ।
मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले आफूलाई युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।
भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर १ तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरेको देखिन्छ ।
महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ ।
यता युवा संघका प्रवक्ता निरोज पौडेलले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको बताएका छन् ।



कागजपत्र |
