


तनहुँमा सात हजार डेँगी सङ्क्रमित

तनहुँ – तनहुँमा डेँगी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेँगी अझै नियन्त्रणमा आउन सकेको छैन ।
डेँगीका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरूमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । १० पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेँगी सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेँगीबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेँगी सङ्क्रमित रहेका छन् ।
त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेँगी सङ्क्रमित छन् । चाडपर्वको समयमा डेँगी सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए ।
डेँगीबाट जोगिन सुत्ने समयमा झुलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा। परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरूप औषधि सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए ।

