इजरायलबाट बेपत्ता भएका विपीन सकुशल, रिहाईको पहल गर्दै परराष्ट्र


काठमाडौं – इजरायलबाट बेपत्ता भएका कञ्चनपुरका विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सकुशल रहेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेको अनुमान यसअघि गरिएको थियो ।

नेपाली राजदूतावास इजरायलले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुजमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्, “तथापि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

विपीन कञ्चनपुरका बासिन्दा हुन् भने उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी पनि हुन् । उनीसहित ४९ जना विद्यार्थीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौको अन्तिम साता इजरायल गएका थिए । तर असोज २० गते हमासले गरेको आक्रमणमा परेर सोही समूहका १० विद्यार्थीको मृत्यु भएको थियो ।

सोही समूहमा रहेका विपीनलाई हमास समूहले साथमा लिएर गएको प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएका थिए । परराष्ट्र मन्त्री एनपी साउदका अनुसार कूटनीतिक नियोगबाट प्राप्त सूचनाअनुसार विपीन गाजा क्षेत्रमा बन्धक बनाएर राखिएको अवस्थामा रहेको पाइएको छ ।

तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको पनि सूचना पाएको उनले जानकारी गराए । “हिजो बेलुका प्राप्त सूचनाअनुसार गाजाक्षेत्रमा बन्धक अवस्थामा रहेको र स्वस्थ अवस्थामा रहेको जानकारी प्राप्त भएको छ,” साउदले भने, “उनको मुक्तिका लागि कतार र रेडक्रससँग परराष्ट्र मन्त्रालयले निरन्तर सम्पर्क राखेको छ । इजरायलका परराष्ट्र मन्त्रीसँग पनि बन्धक अवस्थाका विपीनको उद्धारका विषयमा जुम मिटिङ गर्ने तयारी गरिएको छ ।”

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपीन गाजाको एक अस्पतालमा सुरक्षित अवस्थामै रहेको जानकारी प्राप्त भएको बताइन् ।

“इजरायलस्थित हाम्रो दूतावास मार्फत आइतबार राति यो जानकारी प्राप्त भएको हो,” उनले भनिन्, “हामी विपिनसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ । अहिलेसम्म कुराकानी हुन सकेको छैन । अब विपिनलाई गाजाबाट छिटो र सुरक्षित नेपाल फिर्ता ल्याउने हाम्रो प्रयास हुनेछ ।”

प्रतिक्रिया