
आजदेखि सरकारी कागजातमा नेपाल संवत् उल्लेख गरिने
काठमाडौं – नेपाल संवत्लाई राष्ट्रिय रुपमा मान्यता दिएको सरकारले आजदेखि सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको छ।
भक्तपुरमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पुष्पकमल दाहालले यसको औपचारिक शुभारम्भ गर्दैछन्। कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ।
नेपाल संवत्को आज नयाँ वर्ष। नेपाल संवत् ११४४ आजदेखि सुरु भएको छ। यस अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिए।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्लाई समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।



कागजपत्र |
