

भूकम्पपीडितसँगै प्रचण्डका १८ घन्टा !

काठमाडौं- शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए। विपत्तिका सामु कसैको केही लागेन। एकाएक धर्ती हल्लियो। निद्रामा रहेका मानिस ब्यूँझिए। कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो। काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो।
समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको। जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो। विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यस पटक व्यहोर्नुपरेको छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्। राहत र उद्धारको काम चलिरहेको छ। पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ। करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारी रूपमा खटिन निर्देशन दिनुभएअनुसार काम भएको बताइएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिएका थिए। भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उनले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री आज झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिएका थिए।
आफैंले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिएका थिए। आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुगेका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर गए।
सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुगे। केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ। त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ।
जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ। भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन्। उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्।
प्रधानमन्त्री दाहालले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाएका थिए। घाइतेको तत्काल उद्धारमा जोड दिएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आएका छन्। गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ।
प्रधानमन्त्री प्रचण्डले आज सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिए। उनले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरे। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिएका थिए।
यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताएका थिए।
प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गरेका थिए। उनले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाएका थिए।
आज दिनभरजसो भूकम्प प्रभावितसँग रहेका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिएको प्रेस संयोजक शर्माले जानकारी दिए।
उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुगेका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्केका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाएका छन्।
प्रधानमन्त्री दाहालले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गरेका छन्। उनले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गरेका थिए।

