जगन्नाथले भनेका थिए– ओलीको स्वास्थ्य ठिक छैन, जालान् जस्तो छ, माधव नेपाललाई अध्यक्ष जिताऔं


काठमाडौं– तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) महाधिवेशनका बेला अध्यक्षका प्रत्यासी रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा माधवकुमार नेपाल पक्षका नेताले ठूलो राजनीति गरेको खुलेको छ।

महाधिवेशनमा अध्यक्षका लागि ओली र नेपाल मैदानमा रहेका बेला उदयपुरका नेता मानिने जगन्नाथ खतिवडाले कार्यकर्तालाई अन्तरवार्ताका क्रममा नै ‘उपचारमा रहेका ओली जालान् जस्तो छ अब माधव नेपाल अध्यक्ष बन्छन्, उहाँलाई जिताउनुपर्छ’ भनेका थिए।

थाइल्यान्डको बुमरुङ अस्पतालमा ०७१ सालमा उपचारका दौरान नै यस्तो अन्तरावार्ता सुन्दा खिन्न लागेको ओलीपत्नी राधिका शाक्यले लेखेको पुस्तक मेरा अनुभूतिमा उल्लेख छ।

उनले लेखेकी छन्,‘ नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ। उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन्।’

ओली अस्पतालमा बौरिने हुन कि स्वास्थ्य अवस्था जटिल हुने भन्ने चिन्तामा रहेका बेला उक्त अन्तरवार्ताले थप दुखी बनाएको उल्लेख गरेकी उनले लेखेकी छन्,‘केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो।’

ओलीको राजनीतिलाई अति नजिकबाट नियाँलेकी उनले उक्त प्रसङ्गमा थप जोडेकी छन्,‘आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ। उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने काम हुन्थ्यो।’

तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गरेका नेपालले यसरी स्वास्थ्यमाथि नै आक्रमण गर्दा दुखी नुहुन बाहेक केही विकल्प नरहेको उल्लेख गरेकी शाक्यले स्मरण गरेकी छन्,‘उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नु भएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो। यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र?’

खतिवडा अहिले पुष्पकमल दाहाल प्रचण्ड–नेपाल समूहमा लागेका छन्। उनी तत्कालिन एमालेमा पनि नेपाल गुटमा सक्रिय रहेका थिए। बरु, त्यसबेला उपचार गरी फर्किएपछि झलनाथ खनाल र विष्णु पौडेल बालकोटस्थित निवासमा नै पुगेर भेटेको पनि उल्लेख गरेकी छन्।

प्रतिक्रिया