मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते


मकवानपुर – मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ख ३९८७ नंको कन्टेनर मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

कन्टेनर मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शवपरीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए । त्यस्तै आज हेटाैँडा–१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् ।

घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो ।

प्रतिक्रिया