

कोशी मुख्यमन्त्रीका लागि दोहोरो दाबी, कांग्रेसका कार्की र माओवादी आङबोद्वारा दाबी

विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेको छ ।
माओवादी केन्द्रका इन्द्र आङबो र कांग्रेस संस्थापन पक्षका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा दाबी पेश गरे।
उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
त्यस्तै, बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका हुन् ।
कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्कीले प्रमुख प्रमुखको कार्यालयमा दाबी पेश गरे ।

