इजरायलका समकक्षीलाई परराष्ट्रमन्त्रीको फोन- नेपालीको शव ल्याउन सहजीकरणको आग्रह


काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले विद्रोही हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। दुःखद घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे। उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कविहीन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।

प्रतिक्रिया