


खाद्यले यस वर्षको दसैंमा ८ करोड ३६ लाखकाे खसी-बोका र च्याङ्ग्रा ल्याउने

काठमाडौं – यस वर्षको दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा सर्वसाधारण उपभोक्तालाई खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले जानकारी दिइन् ।
कम्पनीले खसी र बोका २ हजार र च्याङ्ग्रा १ हजार गरी कुल ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । तर, बजारको माग र आवश्यकता अनुसार खसी, बोका र च्याङ्ग्राको सङ्ख्या थपघट हुन सक्ने सूचना अधिकारी न्यौपानेले बताइन् ।
स्थानीय निकाय उपभोक्ता समूहमार्फत खसी, बोका तथा च्याङ्ग्रा सङ्कलन थालिसकेको कम्पनीले घटस्थापनाको अघिल्लो दिनसम्ममा काठमाडौँ ल्याइसक्ने र सकभर घटस्थापनाको दिनदेखि नै बिक्री वितरण सुरु गरिने सूचना अधिकारी न्यौपानेले बताइन् ।
दसैँका लागि ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

