

कोशी एमाले नेतृत्वका लागि मतदान सम्पन्न, दिउँसोबाट मतगणना हुने

विराटनगर – नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९९७ मत मध्ये ९७७ मत खसेको छ । गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।
कोशी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धा छन् । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेद्वार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ ।
जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास गरिए पनि सहमति नहुँदा मतदानमा जानु परेको थियो।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।

