संविधानसभा अध्यक्ष नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएकाे छु: राष्ट्रपति


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन्।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ’, ट्विटरमा भनिएको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन्।

‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु’, उनले ट्विटरमा लेखेका छन्।

प्रधानमन्त्री प्रचण्डले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

प्रतिक्रिया