धरान मेयर साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न अदालतको आदेश

अदालतको निर्णयलाई स्वागत गर्छुः साम्पाङ


विराटनगर — उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।

धरान नगरपालिकाको वडा नं. ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए । वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन् ।

विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए ।

जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेश आएसँगै धरान मेयर साम्पाङले अदालतको निर्णयलाई स्वागत गरेको जनाएका छन् । उनले अदालतको आदेश आएसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले अदालतको निर्णयलाई स्वागत गर्ने बताएका हुन् ।

अदालतको आदेशको पूर्णपाठः

 

प्रतिक्रिया