


राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए गाैरा पर्वको शुभकामना
गाैरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छः राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् ।
“यस पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन् । साथै यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको देखिन्छ”, सन्देशमा उनले भनेका छन्र ।
उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको जनाएका छन् ।
उपराष्ट्रपति यादवद्वारा गौरा पर्वको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।
नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उनले उल्लेख गरेका छन् ।
“विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । त्यही पहिचानभित्र गौरा पर्व पनि पर्दछ । यो पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सबैले आत्मसात् गर्दै यसका सकारात्मक सन्देश ग्रहण गर्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा उल्लेख छ
हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताभित्रको बलियो, सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदानप्रदान गर्न गौरा पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी उनले कामना गरेका छन् ।
हामीबीच परस्पर सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्याउने यो पर्वसहित सबै मौलिक संस्कृति, चाडपर्व र रहनसहनलाई संवर्द्धन एवं संरक्षण गर्ने दायित्व सबैले निर्वाह गर्न सक्नु पर्दछ । उपराष्ट्रपति यादवले विभिन्न वर्ग, समुदाय, क्षेत्र र भूगोलमा प्रचलनमा रहेका चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन यस पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्वको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका छन् ।
“यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ”, शुभकामना सन्देशमा उनले भनेका छन् ।
प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको गौरा मनाउने गरिन्छ ।
सभामुखद्वारा गौरा पर्वको शुभकामना
सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।
नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
उनले भनेका छन्, “संस्कार र संस्कृति फरक भएकाले हामी नेपालीहरू विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।” उनले गौरा पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम होस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।
“गौरा पर्वलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भनेका छन् ।

