
मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु पुन: सर्वोच्चमा
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमालेका नेताहरु रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए । उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न पत्र बुझाएर विदामा बसेकी थिइन् । उक्त पत्रका आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गरेका थिए ।
जबरजस्ती विश्वासको मत पाएको घोषणा गरेकाले प्रदेश सभा नियमावली र संविधानको व्यवस्थालाई विपरीत भएको दाबी रिटमा गरिएको छ । कोशीका सभामुख बाबुराम गौतमलाई भने यसअघिनै राजीनामा गराएर मन्त्री नियुक्त गरेका छन् ।
तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो ।



कागजपत्र |
