
सुनसरीमा दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै
सुनसरी – सुनसरीमा सोमबारबाट दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ। ६ महिनाअघि महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीबाट खोप अभियान सुरु गरिएको हो।
सोमबारबाट सुनसरीका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहमा अभियान सुरु भएको बताइएको छ। धरान उपमहानगरपालिकामा भने डेंगी महामारी फैलिएकाले खोप अभियान तत्काल सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंले बताए।
बर्जु गाउँपालिकामा गत फागुन महिनामा महामारीका रूपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएको थियो। देवागन्ज गाउँपालिकामा साउन २८ गतेदेखि मात्र खोप लगाइने तयारी रहेको छ।
एक सातासम्म चल्ने अभियानमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ। सरकारले सन् २०२३ अर्थात् यसै वर्षभित्र नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ।



कागजपत्र |
