


कोशीमा सरकार विस्तारका लागि मिल्यो भागवण्डा, सभामुख छाडेका बाबुरामले पाए अर्थमन्त्रालय

विराटनगर – कोशी प्रदेशमा सरकार विस्तारका लागि भागबण्डा मिलेको छ । मन्त्रीको भागबण्डा नमिल्दा मुख्यमन्त्रीको सपथनै रोकिएपछि सत्तारुढ गठबन्धनमा रहेका ददहरुले छलफलबाट मन्त्रालयको भागबण्डा मिलाएको हो ।
गठबन्धनका तीन दलले हाल १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) साँझ ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।
सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनले बताए । विहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी भए पनि काङ्ग्रेस र माओवादीभित्रको विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको हो ।

