यार्सा सङ्कलन घट्दै, मूल्य बढ्दै


रुकुमपूर्व – वर्षैपिच्छे बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन घट्दो क्रममा छ भने यसको मूल्य बढ्दो क्रममा छ। बुकी पाटनमा पाइने यार्सागुम्बा वर्षैपिच्छे कम हुँदै गएपछि मूल्य बढ्दै गएको हो।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का बुकी पाटनमा यार्सा पाइन्छ। यस वर्ष यार्सा खोज्न गएकाहरूले विगतमा भन्दा राम्रो मूल्य पाएको बताएका छन्। वैशाखको दोस्रो हप्ताबाट सुरु भएको यार्सा सङ्कलन कार्य असार २५ गते सकिएको छ।

यार्साले उपयुक्त मूल्य पाएपछि सङ्कलकहरू खुसी भएका छन्। यद्यपि विगतका वर्षभन्दा हरेक वर्ष यार्सा पातलो (कम) हुँदै गएको पुथाउत्तरगङ्गा–१ का वडा सदस्य विक्रम पुनमगरले बताए। यस वर्ष अन्दाजी २६ देखि ३० किलो जति यार्सा पाइएको पुनमगरले जानकारी दिए ।

वर्षैपिच्छे करिब १०/११ किलोका दरमा यार्सा कम हुँदै गएको छ। यार्सा पाइने क्षेत्रमा फोहोर बढ्दै गएकाले यार्सा कम हुँदै गएको अनुमान गर्न सकिने वडा सदस्य पुनमगरको भनाइ छ।

यस वर्ष पाटनमै प्रतिकिलो २२ देखि २८ लाख रुपियाँसम्ममा यार्सा खरिदबिक्री भएको पुथाउत्तरङ्गा–१, मैकोटका वीरेन्द्र बुढामगरले बताए। गुणस्तर हेरेर प्रति यार्सा सात सयदेखि एक हजार पाँच सय रुपियाँसम्ममा बिक्री भएको बुढामगरले जानकारी दिए।

विगतका वर्षमा यो यार्सा प्रतिवटा पाँच सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा बिक्री हुने गरेको बुढामगरको भनाइ छ। सामान्य यार्सा पनि यस पटक राम्रो मूल्यमा बिक्री भएको बुढामगरले बताए ।

 

प्रतिक्रिया