

रवि लामिछाने चितवनमा, नारायणगढ-मुग्लिन सडक अवलोकन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकको अवलोकन गर्न चितवन पुगेका छन् ।
बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडकको निरीक्षण गर्न लामिछाने पहिरोस्थल पुगेका हुन् । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन् । उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

