

आदिपुरुष’का लेखकको अभिव्यक्ति अक्षम्य : अनेरास्ववियु
प्रर्दशनमा तत्काल रोक लगाऊ

काठमाडौं – नेकपा (एमाल)को जनसंगठन अनेरास्ववियुले भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर अभिव्यक्तिप्रति आपत्ती प्रकट गर्दै तत्काल फिल्म प्रर्दशनमा रोक लगाउन माग गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार विज्ञप्ति मार्फत भनेका छन्, ‘मनोज मुन्तशिरले नेपालप्रति दिएको अभिव्यक्ति अक्षम्य र नेपालको राष्ट्रिय स्वधिनताको विरुद्धमा छ ।’
मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित दाबी गरेका थिए । भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी भएको जिकिर गरेका हुन् ।
उनले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा १९०४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् ।’
अध्यक्ष बडालले आदिपुरुषको संवाद हटाएर मात्रै प्रर्दशन गर्न अनुरोध गरेको संस्मरण गराउँदै हलहरुमा तत्काल नरोके अनेरास्ववियुले रोक्ने चेतावनी समेत दिएका छन् ।
कहिल्यै कसैको उपनिवेश नबनेको देशलाई कुनै देशको अंग भन्नु मद्दा मजाक भएको अध्यक्ष बडालको भनाई छ । विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली देश नेपाल ईतिहासमा कुनैपनि साम्राज्यको अधिनमा रहेन । देशको उत्पत्ति देखि आज सम्म स्वतन्त्र रहेको संसारमा एउटा मात्रै देश हो नेपाल । सन् १९४७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको भारतले १९०३ मा नेपाल भारतकै अंग रहेको भन्नु भ्रम र भद्दा मजाक मात्रै हो ।’
सरकारले प्रर्दशनमा रोक नलगाए अखिलले हलसम्म गएर बन्द गराउने अखिलका प्रवक्ता प्रकाश पौडेलले बताए ।

