पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु आधुनिकता होइन : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडाैं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् ।

आज ललितपुर महानगरपालिका-२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताए ।

‘पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ’, उनले भने ।

मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए ।

प्रतिक्रिया