महिलालाई भिजिट भिसाको विषय निर्णय भएको छैनः अध्यागमन विभाग


काठमाडौं – अध्यागमन विभागले नेपाली महिलालाई भिजिट भिसामा जाँदा परिवारका सदस्य तथा स्थानीय तहको सिफारिस चाहिने विषय सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीयतहको सिफारिसको आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचारमा आएजस्तो विषय नभएको भन्दै अध्यागमन विभागले विज्ञप्तिमा लेखेको छ, ‘यो विषय समाचारमा आएको जस्तो नभइ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तनरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयमा बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

रु १५ लाखको बीमा अनिवार्य

विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि विभागले बीमा अनिवार्य रहने गरी अध्यागमन कार्यविधि संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

जुनसुकै देशमा जाने जो कोही नेपालीले रु १५ लाख बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविधी संशोधन गर्न केही दिनअघिमात्र मन्त्रालयमा सिफारिस गरिएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

विभागले पठाएको प्रस्तावका आधारमा गृहमन्त्री रामबहादुर थापाले (मन्त्रीस्तरीय निर्णयबाट) उक्त प्रस्ताव स्वीकृति गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया