सरकार पक्षका वकिललाई प्रधानन्याधीशले भने – छाडिदिनुस प्लिज, बाँकी बहस नोटमा दिनु होला


काठमाडौं – संसद विघटनविरुद्ध परेका १३ वटा रिट उपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । बहसमा आइतबारबाट सरकारी पक्षका वकिलहरूका लागि १५ मिनेटको समय तोकिएको छ ।

तर सरकार पक्षबाट रिटको विपक्षमा बहस गर्न आएका वकिलले भने इजलासका प्रमुख प्रधानन्यायाधीशले तोकेको समयलाई बेवास्ता गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षका वकिलका लागि बहस गर्न आइतबारबाट एक जनालाई १५ मिनेट समय दिएका थिए ।

सोमबार सरकारतर्फका नीजि वकिलहरुले सरकारले गरेको संसद विघटनको पक्षमा र रिट निवेदकको विपक्षमा बहस गरिरहेका छन् । सो क्रममा बहसमा सहभागी अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई प्रधानन्यायाधीश राणाले समयको ख्याल गर्न र बहस टुंगाउन पटक पटक आग्रह गरे ।

सरकारी निणर्यको प्रतिरक्षामा बहसमा उत्रिएका भट्टराईले बहसका लागि छुट्याइएको १५ मिनेट समय बिताएर अर्को थप १५ मिनेट बहस गर्दासमेत नसकेपछि प्रधानन्यायाधीश राणाले उनलाई रोकेका हुन् ।

प्रधानन्यायाधीश राणाले उनलाई रोक्दै भने, ‘बाँकी बहस नोटमा दिनु होला, तपाइको समय सकिसकेको छ, अब अर्को साथीलाई गाइड गर्नुहोला, छाडिदिनुस प्लिज ।’ प्रधानन्यायाधीश राणाको आग्रहपछि समेत उनले टेरेनन र बहसलाई अघि बढाइरहे । सो क्रममा प्रधानन्यायाधीश राणाले भने, ‘भनेकै नमान्ने ?’ भन्दै सरकारी पक्षका अधिवक्ता भट्टराईलाई रोकिन र आफ्नो बाध्यतालाई बुझिदिन आग्रह गरे ।

प्रतिक्रिया