नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ


चितवन — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन् ।

सोमबार प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए । अरूको निम्ति ठूलो कुरा गर्ने, आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ ।

उपप्रधानमन्त्रीले भने, ‘अरूका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रस्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।’

नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उनले बताए । उनले भने, ‘भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन ।’

प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए । ‘नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

गैरनागरिकले नागरिकता नपाउने भन्दै उनले नागरिकता विषयमा भएका अनियमितताका विषयमा कडाइका साथ प्रस्तुत हुने बताए । नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन ।’

प्रतिक्रिया