

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा, तर हेर्न नभ्याइने

काठमाडाैं – संवैधानिक परिषद्को बैठक र त्यसले गरेका नियुक्तिका विषयमा विवाद चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतले पेशीमा राखेको छ। संवैधानिक इजलासमा मुद्दाको पेशी चढेपनि हेर्न भने भ्याइने छैन।
प्रधानन्यायाधीशसहित संलग्न हुने उक्त इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दै चलिरहेकाले अन्य मुद्दाको पालो आउने छैन। सभामुख सापकोटाको मुद्दा शुक्रबार पनि हेर्न नभ्याइने हुनेछ।
प्रतिनिधि सभा विघटन भएपछिको परिस्थितिमा सभामुख र सरकारका बीचमा द्वन्द्व चलिरहेको छ। मंसिर ३० गते बोलाएको संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएपछि सभामुखको रिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना बस्न मिल्ने गरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै जारी गरेर नियुक्ति गरेका थिए।
उनीहरूको नियुक्ति सभामुख सापकोटाले केही दिनअघि फिर्ता पठाएका थिए। फिर्ता पठाएलगत्तै सरकार विभिन्न आयोगमा सिफारिस भएका ३२ जनालाई सपथ गराएका थिए।

