सभामुख संवैधानिक नियुक्तिविरुद्ध रिट निवेदन बोकेर पुगे सर्वोच्च


काठमाडाैं – संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् ।

शुक्रबार बिहान रिट लिएर सभामुख आफैं सर्वोच्च अदालत पुगेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘हामी यहीँ अदालतमा छौं, सभामुख आफैंले रिट दायर गर्न लाग्नुभएको हो,’ न्यौपानेले भने ।

सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा लगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन्।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिश गरेको थियो ।

सभामुख सापकोटाले संवैधानिक आयोगको नियुक्तिको सक्कल प्रति फिर्ता पठाएका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने सापकोटाले सल्लाह नगरेको भन्दै आपत्ति जनाएका थिए । सभामुखले सरकारले संवैधानिक निकायमा गरेको सिफारिस र नियुक्ति दुवै संविधान र कानुनविपरीत रहेको बताएका थिए ।

प्रतिक्रिया