

उपराष्ट्रपति पुनःले बुधबार गरेको एउटा गम्भीर गल्ती

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नमज्जाले तानियो। आफ्नो काम कर्तव्य र जिम्मेवारीमा रहेकी आलंकारिक भूमिकाकी राष्ट्रपति भण्डारीको त पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले हुर्मत पनि लियो।
सो समूहकी नेत्री रामकुमारी झाँक्रीले लिंगवादी सोचका आधारमा भण्डारीमाथि टिप्पणी गरिन्। नेकपाको आन्तरिक विवादमा तानिएका अर्का पात्र हुन् सभामुख अग्नी सापकोटा। सो विवादकै क्रममा संवैधानिक परिषदको बैठकमा अनुपस्थिति देखाउने मात्र होइन, प्रचण्डको निर्देशन अनुसार पदीय मर्यादालाई ख्याल राखेनन्।
नेकपाभित्रको आन्तरिक विवादमा नदेखिए उपराष्ट्रपति नन्दबहादुर पुनःले पनि बुधबार पक्षधरतासहितको गम्भीर गल्ती गरेका छन्। संवैधानिक आयोगमा नियुक्त गरिएका प्रमुख र सदस्यको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेर उनले पक्षधरता देखाएका हुन्। जवकि, संवैधानिक पदमा रहेका पुनःले अहिले पार्टीको पक्षधरता भन्दा पनि राष्ट्रको जिम्मेवारीताका हिसाबमा व्यवाहार देखाउनुपर्ने थियो।
‘सरकारले गरेका कामलाई सदर गर्नु राष्ट्रपतिको कर्तव्य हुन्छ। त्यसभन्दा बाहेक उनका केही अधिकार छैनन्। नेकपाभित्रको विवादमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् एउटा पक्ष रहेका कारणले राष्ट्रपतिले गरेका कतिपय सदरका विषयले उनलाई विवादमा तान्न खोजियो’, उच्च स्रोतले भन्यो,‘तर संवैधानिक प्रमुख उपप्रमुखका पनि केही डिप्लोमेसी हुन्छन्। जसको विवादमा उपराष्ट्रपति पुनः नियोजित हिसाबले परिचालित भएको पाइयो।’
पृष्ठभूमी जस्तो भए पनि राज्यको निकायको जिम्मेवारी लिएपछि त्यसअनुसारको भूमिकामा उभिनुपर्ने उपराष्ट्रपतिको दायित्व हुने थियो। तर, उनले त्यसो नगरी नेकपा विवादमा प्रचण्डको पक्षधरता देखाएको प्रष्ट झल्किएको बताइन्छ।
सपथ ग्रहण कार्यक्रममा पुनःसहित सभामुख सापकोटा पनि उपस्थित थिएनन्। उनीहरूले उक्त कार्यक्रम बहिस्कार गरेका खबरहरू बाहिरिएका थिए। यहि मेसोमा उक्त नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले विहीबारका लागि आम हड्तालको घोषणा गरिसकेको छ।

