

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोलुखुम्बु – अत्यधिक रक्तश्रावका कारण सोलुखुम्बुमा सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोताङ गाउँपालिका-५ की ३० वर्षीया गंगा बस्नेत रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ।
अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार बिहीबार सोताङ प्राथमिक अस्पतालमै अप्रेशनमार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा उनको बाटैमा ज्यान गएको हो।
‘ओ’ नेगेटिभ रगत आवश्यक परेको सुत्केरीलाई सोताङमा उक्त रक्त समूहको रगत नभेटिएपछि जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो।महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत राति नै सोताङबाट फाप्लु ल्याएका बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटैमा ज्यान गएको प्रमुख शेर्पाले बताइन्।
समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ। शिशुको अवस्था भने अहिले सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ।

