

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
झापा, मकवानपुर, मोरङ, पर्सा र बारामा मंगलबार भएको दुर्घटनामा विभिन्न सवारी साधनहरू दुर्घटना हुँदा ती व्यक्तिहरूको मृत्यु भएको हो ।
झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकमा प्र.१-०१-००१ ख ३८४८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बस्ने ७० वर्षीय जगतमान सावाको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मकवानपुर, बकैया गाउँपालिका-३ हात्तिसुडेस्थित सडकमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ श्रीपुर बस्ने ३० वर्षीय श्याम लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे नगरपालिका-१० जिरी खम्ती बस्ने ४० वर्षीय युवराज खत्रीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ टाली चोकमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ४५ वर्षीय तपसी साह कानुको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, परवानीपुर गाउँपालिका-३ स्थित सडकमा गण्डकबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प.८५९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बहुअरी बस्ने २८ वर्षीय ममुराम पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एस.एल.न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

