दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ गतेसम्म प्रदर्शन


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगको निर्णयबारे असन्तुष्टी जनाएको छ । प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐनलाई लिएर उचित निर्णयमा जानु उपर्युक्त हुने बताए । उनले आफूहरु नै आधिकारिक पार्टी भएकाले निर्वाचन आयोग दुविधामा बस्न नहुने स्पष्ट पारेका छन् ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । यो समूहले भोलिदेखि २८ गतेसम्म विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रमअनुसार प्रचण्ड–नेपाल समूहले भोलि सिट्ठी जुलुस निकाल्ने, पर्सिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत कार्यक्रम बनाएको छ ।

काठमाडाैं उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहले घोषणा गरेको छ । समाजका विभिन्न तह र तप्कासंग अन्तर्क्रिया कार्यक्रम गर्नुका साथै माघ २२ गते काठमाडौंमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मसाल जुलुस तथा माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन तथा सभा गरिने नेकपाका केन्द्रिय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट प्रचण्ड–नेपाल पक्ष अलग्गिएको छ । तर, निर्वाचन आयोगले भने पुस ५ गते यता भएका छुट्टाछुट्टै समूहका बैठक र निर्णयलाई मान्यता नदिने बताएको छ ।

प्रतिक्रिया