सन्दीप-नाबालिका प्रकरणः ‘नगरकोट घुमाएर पिंगलास्थानको होटलमा लगेर बलात्कार !’


काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।

प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता हो । सन्दीपविरुद्ध उजुरी दिन आफ्ना साथीसँग गौशाला पुगेकी १७ वर्षीया किशोरीले आफूलाई लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । गौशालामा उजुरी आएपछि काठमाडौं परिसरमा जानकारी गराएको जनाइएको छ ।

काठमाडौं परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोरा हुँदै यो सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो ।

‘बलात्कार जस्तो घटनामा प्रहरी संवेदनशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्रबहादुर धानुक भने ।

राजधानीकै एक कलेजमा अध्ययनरत युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जालमार्फत कुरा हुँदै आएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

लामिछानेले पीडित युवतीलाई भदौ ५ गते पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ । सन्दीपसँग होस्टेलबाट निस्किएकी पीडित युवतीले दिउँसो नगरकोट गएको र साँझ परेपछि गौशालाकै होटल इनमा लगेर राती ११ बजेपछि लठ्याएर बलात्कार गरेको प्रारम्भिक बयानमा बताएकी छिन् ।

पीडित युवतीले राति ८ बजेपछि होस्टल बन्द हुने बताएपछि सन्दीपले ‘एकछिन÷एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।

पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ । राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया