श्रम मन्त्री कुँवरले गरे कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन


काठमाडौं – श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिँदै आएको छ।

यो वर्ष पनि १९ जेठदेखि ३ असारसम्म पहिलो चरण र १३ असारदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ। एक पटकमा २ सय जनाले परीक्षा दिइरहेका छन्। अहिले विद्यार्थीले युविटीमार्फत परीक्षा दिइरहेका छन्। परीक्षाको एकदिनअघि विद्यार्थीको बायोमेट्रिक तथ्यांक राख्ने काम गरिन्छ।

त्यसमा परीक्षामा सहभागी हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियालीले परीक्षा लिने गर्छन्।यो वर्ष ४४ हजार जना कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिएका छन्।

प्रतिक्रिया