

फेरि आइतबार सार्वजनिक बिदा होला त?

काठमाडौं- नेपाल आयल निगमले यसअघि कार्यान्वयनमा आएर असफल भएको आइतबार बिदा दिने प्रस्ताव फेरि अघि सारेको छ। सोमबार बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि भन्दै १० वटा प्रस्ताव अघि सारेको छ।
ती मध्ये आइतबार बिदा दिने प्रस्ताव पहिलो नम्बरमा रहेको छ। सरकारले यसअघि पनि निगमकै सिफारिसमा आइतबार बिदा दिने व्यवस्था लागू गरेको थियो।
शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय जेठ महिनाभरि लागू भएको थियो। चौतर्फी बिरोध र आलोचना भएपछि सरकारले असार १ गतेदेखि आइतबारको बिदा हटाएको थियो।
उक्त प्रस्ताव फेरि लागू गर्दा पेट्रोलिय पदार्थको बचत हुने निगमको ठहर छ। त्यस्तै देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने प्रस्ताव पनि अघि सारेको छ।

