अदालतको आदेशपछि महर्जनकाे मिर्गौला प्रत्यारोपण


काठमाडौं – ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उच्च अदालत पाटनको आदेश पश्चात साँखुका एक महिलाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

एकै आमाको कोखबाट जन्मिएकी दिदी र भाइको नागरिकता प्रमाणपत्रमा भाइको उमेर दिदीको भन्दा बढी देखिएका कारण रोकिएको मिर्गौला प्रत्यारोपण अदालतको आदेशपश्चात बुधबार गरिएको किस्ट मेडिकल कलेजले जनाएको छ ।

मिर्गौला ग्रहणकर्ता दिदी राधा महर्जन र दाता भाइ हरिगोपाल प्रजापति हुन् । नागरिकतामा २३ दिनले भाइ जेठो देखिएपछि महर्जनले जन्ममिति सच्याउन प्रमाणसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेस गरेका थिए ।

तर, पटक-पटक धाउँदा पनि नसच्चिएपछि उनले २०७९ असार ७ मा किस्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दिएकी थिइन् । अदालतले असार ८ गते महर्जनको पक्षमा फैसला गरेको थियो ।

प्रतिक्रिया