


शनिबार पनि कार्यक्षेत्रमा बालेन, वडाध्यक्षसँगको लञ्चपछि पुगे छत्रपाटी अस्पताल

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र वडा नं. १६ का वडाअध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ।
सपथ ग्रहण गरेलगत्तै बसेको महानगरको पहिलो कार्यपालिका बैठकमा नै मेयर बालेन शाहमाथि खरो प्रश्न उठाएका वडाध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन् ।
पछिल्लो समय महानगरलाई व्यवस्थित बनाउनका लागि विभिन्न योजनासहित अगाडि बढिरहेका मेयर बालेनको भेटघाटको क्रम ज्यादै बाक्लिएको छ । शनिबार वा बिदाको दिन पनि नभनी मेयर शाह महानगरको काममा खटिएका छन् । फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका मेयर शाहले बञ्चरेबासी र सिसडोलबासीसँगको सम्झौतापछि महानगरका अन्य क्षेत्रको सुधारमा लागेका छन् ।
वडाध्यक्ष रिजालसँगको भेट पनि त्यसकै क्रम रहेको जनाइएको छ । मेयर शाहले वडाध्यक्ष रिजालसँगै लन्च गर्दै करिब दुई घण्टा बिताएको बताइएको छ।
त्यसपछि मेयर बालेन छत्रपाटी निःशुल्क चिकित्सालय पुगेका थिए । त्यहाँ उनले उपचाररत विरामीसँग सामान्य कुराकानी गरेका थिए ।

