मुग्लिङ–आँबुखैरेनी यातायात सम्पर्कविच्छेद, पहिरोस्थलमा एक शव फेला

तत्काल यातायात सञ्चालन गर्नका लागि बेलिब्रिज नै अन्तिम विकल्प


तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।

घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ। तर उक्त शव कस्को हो भन्ने खुलेको छैन ।

साथै उक्त क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुन सक्ने अनुमान छ। अहिले प्रहरीहरूले कारको खोजी जारी राखेका छन्।

‘एउटा पुरूषको शव फेला परेको छ,’ उनले भने, ‘शव कसको भन्ने खुलेको छैन। पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको कार पहिरोमा परेको हुन सक्ने अनुमान छ।

उक्त सडक खण्डमा गएको ठूलो पहिरोका कारण तत्काल यातायात सञ्चालनमा आउने देखिएको छैन । उक्त ठाउँमा वैकल्पिक मार्ग समेत नभएकोले अब आँबुखैरेनी मुग्लिनको सम्पर्क विच्छेद भएको छ । उक्त स्थानबाट यातायात सञ्चालनका लागि बेलीब्रिजको मात्रै सम्भावना रहेको जनाइएको छ ।

यससँगै ट्राफिक प्रहरीले मुग्लिङबाट पोखरा जाने सवारी साधनलाई मुग्लिङमै रोकिराखेको छ । केही सवारीले भने वैकल्पिक मार्गको रुपमा नारायणगढबाट कालीगण्डकी राजमार्गको बाटो प्रयोग गरे पनि उक्त खण्डमा पनि ठाउँठाउँमा सडक अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया