पूर्वराजा ज्ञानेन्द्रको तराई डायरीः झापाको बास, बिराटनगरको भात


काठमाडौं– तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दमकस्थित हिमालयन टि गार्डेनमा परिवारका सदस्य साथ बसेका छन्। झन्डै डेढ महिना लामो बसाईका लागि तराई पुगेका उनको दैनिक भने विभिन्न जिल्ला भ्रमण र सवारीमा नै बित्ने गरेका छन्।

यहि साता मात्रै उनी झापाको विभिन्न ठाउँको भ्रमणमा निस्किए। नयाँ बर्ष पाँचतारे होटल मेची क्राउनमा मनाएका थिए। उनका साथमा रानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र नाती हृदयेन्द्र पनि झापामा रहेको बताइएको छ।

यसबीचमा राजा समर्थकले इटहरीदेखि बिराटनगरसम्म विशाल मोटरसाइकल जुलुस निकालेका थिए। त्यसको भोलीपल्ट भने उनी इटहरी हुँदै सुनसरीको इनरुवासम्म पुगेका थिए। उच्च स्रोतहरूका अनुसार उनी खाना खानकै लागि बिराटनगरसम्म पनि पुगेका थिए।

‘उहाँलाई विभिन्न व्यक्तित्वको निम्तो आएपछि आफ्ना समर्थकका घरमा र कतिपयका होटलमा समेत पुग्ने गर्नुभएको छ’, उच्च स्रोतले भन्यो,‘केही दिनमा भारत समेत सवारी हुने जानकारीमा आएको छ।’

तराई भ्रमणका क्रममा उनी भारतका विभिन्न प्रान्तसम्म पुग्ने गरेका यसअघिका दृष्टान्त छन्। केही बर्ष अघि उनी नेपालगञ्जमा लामो समय बसेपछि उत्तर प्रदेशको भ्रमणमा पुगेका थिए। जहाँ त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वागत गरेका थिए।

यसपटक भने उनी झापाबाट बागडोग्रा हुँदै नयाँ दिल्ली र अन्य केही प्रान्तको भ्रमणमा जान सक्ने बताइएको छ।

प्रतिक्रिया