दुर्घटनाग्रस्त तारा एयरको ब्लाकबक्स भेटियो


काठमाडौं – जेठ १५ गते बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर 9N-AET  विमानको ब्लाकबक्स फेला परेको छ।

आज बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो। प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ।

विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए। दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ। ब्लाकबक्स आगलागी हुँदासमेत नजल्ने प्राविधिकहरुले जनाएको छ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ। आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबारको तारा एयरको सहित ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना भएका छन्। यी सबै दुर्घटनामा झन्डै नौ सय जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया