विमान दुर्घटना अपडेट : मृतकको शव काठमाडाैं ल्याइने


काठमाडौं – मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको हो ।

जहाज पुरै टुक्रा-टुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् । सबैले शव सङ्कलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने भएको छ । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।

चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया