उम्मेदवार जोशीको स्वास्थ्य बुझ्न अस्पताल पुगे महासचिव पोखरेल


काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी सूर्य चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका हुन् । भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव दिए ।

उनले भने, ‘राजनीतिमा राम्रा मान्छे नटिकुन भनेर गरिएको हतकण्डा हो तपाईंमाथिको आक्रमण, यसलाई दृढताका साथ सामना गरेर जनताको बलमा परास्त गर्नुपर्छ, हामी सबै तपाईंको साथमा छौँ, निरास नहुनोस् ।’

अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ सहभागी थिए । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट लागेको थियो । उक्त घटनापछि मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने निर्वाचन बुधबार हुँदैछ ।

प्रतिक्रिया