अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको उद्घाटन हुँदै, भारतीय प्रधानमन्त्री लुम्बिनी आउने
बुटवल- आगामी जेठ २ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ । २५६६औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा निर्माणाधीन पाँच हजारजना अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।
कोभिड–१९ का कारण दुई वर्षसम्म बुद्धजयन्ती मनाउन नसकिएकोले लुम्बिनीमा कोभिडको प्रभाव छैन भन्ने सन्देश दिनको लागि लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा चार दिनसम्म विशेष कार्यक्रम गरी मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
जेठ १ गते रामग्राममा विशेष पूजाआजा र दीप प्रज्ज्वलन, २ गते लुम्बिनीमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन र दिउँसो बृहत् कार्यक्रम, साँझ रुपन्देहीको देवदह, नवलपरासीको रामग्राम, लुम्बिनी र कपिलवस्तुको तिलौराकोटमा विशेष पूजासहित दीप प्रज्वलन तथा सुरसुधाको सांगीतिक कार्यक्रम हुने भएको छ ।
जेठ ३ र ४ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नेसम्बन्धी देश विदेशका विज्ञहरूको सम्मेलन हुने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । बुद्धजयन्तीको अवसरमा ७४ करोडको लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।