मतले होइन, भाग्यले ठगिएका हुकुमसिंह फेरि चुनावी मैदानमा

रंगशालाको नाम मदन भण्डारी राख्ने ओलीको अड्डी विरोधी उम्मेदवार


झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको अध्यक्षमा यो पटक फेरि हुकुमसिंह राई उम्मेदवार बनेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले गाउँपालिका अध्यक्षमा उम्मेद्वार बनेर ८ हजार २७५ मत ल्याए । तर, भाग्यले साथ नदिँदा विजयी हुन सकेनन् ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका हुकुमसिंहले ल्याए जत्तिकै मत एमालेको तर्फबाट उम्मेदवार भएकी मेनुका काफ्लेले पनि ल्याइन्, तर गोला तान्दा हुकुमसिंह पराजित भए भने काफ्ले अध्यक्ष निर्वाचित भइन ।

यस पटक भने राई आफ्नो दल नेपाली कांग्रेसको मात्र समर्थनमा उम्मेदवार भएका होइनन्, ७ वटा वडा रहेको यो गाउँपालिकामा ६ दलको गठबन्धनको समर्थनमा उम्मेद्वार भएका छन् ।

झापामा चुनावी तालमेल मुलुकका अन्य क्षेत्रमा जस्तो छैन । कमल गाउँपालिकाको हकमा पनि ६ दलिय गठबन्धन भएको छ । गठबन्धनमा आवद्ध कांग्रेससहित, नेकपा माओबादी केन्द्र, जसपा, नेकपा एस, जनमोर्चावाहेक राष्ट्रिय जनमुक्ती पार्टीबीच समेत यहाँ तालमेल भएको छ ।

कांग्रेसको तर्फबाट अध्यक्षमा हुकुमसिंह राई र २ वडाध्यक्ष उठाइएको छ भने माओबादीको तर्फबाट उपाध्यक्षसहित २ वटा वडाध्यक्ष उठाइएको छ । नेकपा एकीकृत समाजबादी, जनता समाजबादी पार्टी र जनमुक्ती पार्टीलाइ १–१  वटा वडाकाे वडाध्यक्षमा उम्मेदवारी दिएर तालमेल गरिएकाे छ ।

नेपाली कांग्रेसको गाउँपालिका कार्यसमितिले गाउँपालिका अध्यक्षमा हुकुमसिंहको एक मात्र नाम सिफारिस गरेपछि क्षेत्रदेखि जिल्ला हुँदै प्रदेशसम्मले उनकै नाममा समर्थन दिएका थिए । गाउँपालिकाको अध्यक्षमा बिबाद नहोस भनेर आफूले समेत अध्यक्ष दाबी नगरेको कांग्रेस कमल गाउँपालिका कार्यसमिति सभापति बुद्धी न्यौपानेले बताए ।

रंगशालाको बिबादमा उजिल्याएको क्षवि

गाउँपालिकाको ४ नम्वर वडामा पर्ने पाडाजुँगी नजिक अन्तराष्ट्रिय रंगाशाला निर्माण गर्ने भनेर सात वर्ष अघि शिलान्यास भए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘रंगशालाको नाम मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ राख्नु पर्छ भन्ने अड्डीका कारण रंगशाल निर्माण कार्य अझै अघि बढ्न सकेको छैन् ।

स्थानीय गाउँपालिकाका नागरिकहरुले आदिवासी जनजाति समुदायका मानिसको अन्त्येष्टि गरिएको ठाउँ ‘चिहान’ मासेर निर्माण गर्न लागिएको अन्तराष्ट्रिय रंगशालाको नाम ‘आदिवासी जनजाति’ राखियोस भन्ने छ ।

तर, आफू जननिर्वाचित जनप्रतिनिधि भएको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको नाम ‘मदन भण्डारी’ नराखेसम्म बजेट छुट्याएर पनि काम अघि बढाउन अनिच्छुक देखिएपछि एक दशकदेखिको रंगशाला निर्माणको काम अलपत्र परेको छ ।

‘आफ्ना पीता, पूर्खाको अन्त्येष्टि गरिएको ठाउँलाई मासेर’ निर्माण हुने रंगशालाको नाम आदिवासी जनजाति राख्नु पर्ने अभियान संचालन गरेर चर्चा बटुलेका हुकुमसिंह राई कमल गाउँपालिका क्षेत्रमा लोकप्रीय छन भन्ने उनले पाएको मत सख्यालाई हेरेर पनि आंकलन गर्न सकिन्छ ।

खेलकुद र सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल हुकुमसिंह राईलाई टक्कर दिन यो पटक एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । भिम राईलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको एमालेले निवर्तमान गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाई ६ नम्वर वडासदस्यमा उम्मेदवार बनाएको छ । मेनुका काफ्लेलाई कुनै पनि जिम्मेवरी दिएको छैन् ।

पूर्वतर्फ कमल र पश्चिमतर्फ रतुवा नदिले घेरिएको कमल गाउँपालिकामा गत २०७४ को स्थानीय तहको निर्वाचनमा बलियो पकड बनाएको एमालेलाई सात दलिय गठबन्धन दलको तालमेलपछि ठूलै चुनौति दिएको आंकलन गरिएको छ ।

प्रतिक्रिया