विश्वराज पोखरेललाई आईजीपीमा बढुवा गर्न गृहको प्रस्ताव


काठमाडौं –  गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएको स्रोतको भनाइ छ । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर २५ गते दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।

प्रतिक्रिया